बारामा मिनी ट्रक दुर्घटना : एक जनाको मृत्यु, एक घाइते, चालक नियन्त्रणमा

समाचार

बारा, साउन ५ । बाराको कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गएराति भएको मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार मिति २०८३ साउन ५ गते राति करिब १२:३० बजे बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको टाटा कम्पनीको खाली मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकको बाँया किनारमा रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको थियो।

दुर्घटनामा ट्रकमा सवार जितपुर–सिमरा उपमहानगरपालिका–८, इमली निवासी ५० वर्षीय देवनारायण चौधरी टाउको तथा दुवै हात–खुट्टामा चोट लागेर मध्यम अवस्थाका घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, सोही स्थानका ४० वर्षीय शिवनारायण पासवानको उपचारका क्रममा राति करिब १२:५० बजे प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
घटनालगत्तै अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक रमेश राय चनउको नेतृत्वमा तथा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक हुमानन्द खनालको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो।

दुर्घटनामा संलग्न मिनी ट्रकका चालक रौतहटको गुजरा नगरपालिका–९ सिमरा भवानीपुर निवासी २७ वर्षीय राजु कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाएको जनाएको छ।

दुर्घटनाका कारण सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ। ट्रकको अगाडिको भागमा क्षति पुगेको छ भने ठक्करबाट घरको एकातर्फको पर्खाल भत्किएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *