बाराबाट हराएको ट्रक चितवनमा दुर्घटनाग्रस्त अवस्थामा फेला, बसलाई ठक्कर दिएपछि चालक फरार

समाचार

बारा, साउन ४ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ बाट हराएको ट्रक चितवनमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। बारा र चितवन प्रहरीको समन्वयमा उक्त ट्रक बरामद गरिएको हो।

प्रहरीका अनुसार साउन ३ गते राति घरअगाडि पार्किङ गरिएको ना ७ ख १३५७ नम्बरको टाटा ट्रक सहचालकले अनुमति बिना लिएर गएको भन्दै खोजी भइरहेको थियो। खोजतलासकै क्रममा साउन ४ गते साँझ प्राप्त सूचनाअनुसार उक्त ट्रक चितवनको भरतपुर महानगरपालिका–१ रामनगर पानीट्याङ्कीस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनामा परेको अवस्थामा फेला परेको हो।

प्रारम्भिक अनुसन्धानअनुसार ट्रक नारायणगढबाट मुग्लिनतर्फ जाँदै गर्दा सोही दिशातर्फ गुडिरहेको म.प्र. ०३–००१ ख ९५२१ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो। दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट फरार भएका छन्।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामनगर, चितवनले ट्रकलाई नियन्त्रणमा लिएको छ। फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यसअघि उक्त ट्रक बाराको जितपुरसिमरा–१ स्थित घरअगाडिबाट हराएको भन्दै प्रहरीमा उजुरी परेको थियो। अहिले ट्रक बरामद भइसके पनि चालक फरार रहेकाले उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *