लमजुङ, १६ वैशाख ।
मानवीय सेवाप्रति प्रतिबद्धता देखाउँदै सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वाटर रानीकुवा लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विकास अधिकारीले किड्नीका एक बिरामीलाई रक्तदान गरेका छन्।
मंगलबार प्रदेश अस्पताल लमजुङ पुगेर उनले बेसीशहर नगरपालिका–११, चिती निवासी किड्नी रोगबाट पीडित चोलराज विष्टलाई आवश्यक रगत उपलब्ध गराएका हुन्। आकस्मिक अवस्थामा रगत अभाव हुँदा बिरामीको उपचारमा समस्या हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै उनले समयमै रक्तदान गरी जीवनरक्षा कार्यमा महत्वपूर्ण योगदान दिएका छन्।
डिएसपी अधिकारीले यसअघि पनि निरन्तर रूपमा रक्तदान गर्दै आएको बताइएको छ। हालसम्म उनले करिब २० पटक रक्तदान गरिसकेको जानकारी प्राप्त भएको छ। सुरक्षा जिम्मेवारीका साथै सामाजिक उत्तरदायित्वलाई समेत उत्तिकै महत्व दिँदै उनले देखाएको सक्रियता सराहनीय मानिएको छ।
उनको यो कदमले सशस्त्र प्रहरी संगठनभित्र मात्र होइन, समग्र समाजमा पनि सकारात्मक सन्देश प्रवाह गरेको छ। मानवीय सेवाको भावनाबाट प्रेरित भई गरिएको यस्तो कार्यले अन्य व्यक्तिहरूलाई पनि रक्तदान जस्तो जीवनरक्षक अभियानमा सहभागी हुन उत्साहित गर्ने विश्वास गरिएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार किड्नी रोगीहरूलाई नियमित उपचारका क्रममा कहिलेकाहीँ रगतको आवश्यकता पर्न सक्छ। यस्तो अवस्थामा समयमै रक्तदान उपलब्ध हुनु बिरामीको जीवनरक्षाका लागि अत्यन्त महत्वपूर्ण हुन्छ।
स्थानीयवासी तथा अस्पताल प्रशासनले डिएसपी अधिकारीको यस मानवीय कार्यको उच्च प्रशंसा गरेका छन्। उनीहरूले यस्तो उदाहरणीय कार्यले समाजमा सहयोग, सहकार्य र मानवताको भावना अझ सुदृढ बन्ने विश्वास व्यक्त गरेका छन्।
