पर्सा, १५ बैशाख ।वीरगञ्ज आईसिपी (ICP )बाट नेपाल भित्रिने सवारी साधनहरूमा पर्सा प्रहरीले कडाइका साथ चेकजाँच सुरु गरेको छ। सीमा सुरक्षा सुदृढ पार्ने, अवैध गतिविधि नियन्त्रण गर्ने तथा नागरिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले विशेष निगरानी बढाइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भन्सार छली, अवैध सामग्री ओसारपसार, लागूऔषध कारोबार तथा बिना दर्ता सवारी सञ्चालन जस्ता क्रियाकलाप रोक्न आईसिपी नाकामा उच्च सतर्कता अपनाइएको छ। प्रवेश गर्ने प्रत्येक सवारी साधनलाई विस्तृत रूपमा जाँच गर्दै कागजात, चालक परिचय तथा सामानहरूको परीक्षण गरिँदै आएको प्रहरीले जनाएको छ।
प्रहरीले यस अभियानलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि अन्य सुरक्षा निकायसँग समन्वय समेत सुदृढ बनाएको छ। “सीमा सुरक्षा, अपराध नियन्त्रण र नागरिकको सुरक्षाप्रति नेपाल प्रहरी सदैव प्रतिबद्ध छ,” प्रहरीले जनाएको छ।
स्थानीयवासी तथा सवारी चालकहरूलाई आवश्यक कागजातसहित मात्र यात्रा गर्न र कानुनको पालना गर्न आग्रह गरिएको छ।
