बिरगञ्जका मेयर सिंहद्वारा Gen Z आन्दोलनमाथिको दमनको कडा निन्दा, युवासँग ऐक्यबद्धता प्रकट

समाचार

बिरगञ्ज, भदौ २४ ।बिरगञ्ज महानगरका मेयर राजेशमान सिंहले Gen Z युवापुस्तामाथि भएको निर्मम दमनप्रति गहिरो आक्रोश व्यक्त गर्दै तीव्र शब्दमा निन्दा गरेका छन्। उनले शान्तिपूर्ण आन्दोलनमै २० जना युवाले ज्यान गुमाउनु र सयौँ घाइते हुनु कुनै पनि सभ्य समाजले सहन नसक्ने आततायी कृत्य भएको उल्लेख गरे।

“यो केवल दमन मात्र होइन, युवाको भविष्यमाथि गरिएको प्रहार हो,” मेयर सिंहले भने। उनका अनुसार अब केवल सरकारको राजीनामाले मात्र पुग्दैन, बरु यस हत्याकाण्डको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ। साथै युवाले उठाएका जायज मागहरू तत्काल सम्बोधन गर्नुपर्ने उनले जोड दिए।

सिंहले आफू युवाहरूको न्यायपूर्ण आन्दोलनमा पूर्ण ऐक्यबद्ध रहेको बताउँदै आवश्यक परे सडकमा उत्रन पनि तयार रहेको प्रष्ट पारे। तर संघर्ष सदैव शान्तिपूर्ण र संयमित रहनुपर्नेमा उनले बल दिए। कसैको वहकावमा नपरी, गलत तत्वहरूको घुसपैठ हुन नदिन युवाहरूलाई सतर्क रहन आग्रह गरे।

शान्तिपूर्ण आन्दोलनमा शहादत प्राप्त गरेका महान् युवा योद्धाहरूलाई उच्च सम्मानसहित श्रद्धाञ्जली अर्पण गर्दै सिंहले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे।

उनले भने, “युवाशक्ति नै परिवर्तनको शक्ति हो। युवापुस्ताले आँटेको यो संघर्ष सफल होस्, भविष्य उज्ज्वल होस्।”

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *