पर्सा,२१ पुस । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले धोबिनी गाउँपालिका-२, भिखमपुरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको परिसरमा ८ दिने निःशुल्क कपाल काट्ने तालिम सञ्चालन गरेको छ।
Border Area Development Program (BADP) र Quick Impact Project (QIP) जस्ता कार्यक्रममार्फत सशस्त्र प्रहरी बलले अन्तर्राष्ट्रिय सीमासँग जोडिएका वडाका विपन्न नागरिकहरूलाई लक्षित गरी यस्ता तालिम र कार्यक्रमहरू देशव्यापी रूपमा सञ्चालन गर्दै आएको छ।
यो तालिम BADP अन्तर्गत सञ्चालन गरिएको हो, जसमा सीमा क्षेत्रका २० जना इच्छुक युवाहरूलाई सशस्त्र प्रहरी बलका तालिमप्राप्त प्रशिक्षकद्वारा निःशुल्क तालिम प्रदान गरिँदैछ।
तालिम उद्घाटन कार्यक्रममा धोबिनी गाउँपालिकाका प्रमुख मदनप्रसाद चौहान, सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरका गुल्मपति, विभिन्न वडाका अध्यक्ष, स्थानीय जनप्रतिनिधि, तथा तालिममा सहभागीहरूसहित ५०/६० जनाको उपस्थिति रहेको थियो।
सो अवसरमा सशस्त्र प्रहरी उपरीक्षक धिमालले सीमावासीहरूसँग सुमधुर सम्बन्ध स्थापना गर्न, सीमा क्षेत्रका नागरिकहरूसँग सहकार्य गर्दै विकासका कार्यक्रमहरूमा सहभागिता बढाउन यस्ता कार्यक्रमहरू आयोजना गरिने र भविष्यमा पनि निरन्तरता दिइने जानकारी गराउनुभयो।
सूचना अधिकारी नरेन्द्र सिंह धामीले कार्यक्रमबारे जानकारी गराउँदै तालिमले युवाहरूको सीप विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
