बारा, असोज ३० ।
७०औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। असोज २९ गते बिहान अन्दाजी ८:०० बजे कलैया उपमहानगरपालिका–१ स्थित जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा आयोजित उक्त कार्यक्रम प्रादेशिक अस्पताल कलैया, रक्त सञ्चार शाखाको सहकार्यमा सम्पन्न गरिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी एसपी सन्तोष तामाङसहित मातहत कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारी, सेवाग्राही तथा सञ्चारकर्मी गरी जम्मा ७१ जनाले रक्तदान गरेका थिए।
बाराका प्रहरी प्रमुख तामाङले मानव सेवाको उत्कृष्ट उदाहरणका रूपमा रक्तदानलाई सबैले अपनाउनुपर्ने बताउँदै नियमित रूपमा यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
