बारा, ३० असोज ।
नेपाल प्रहरीले आगामी चाडपर्वलाई लक्षित गर्दै देशभर सञ्चालन गरिरहेको “प्रतिबन्धित पटाका नियन्त्रण अभियान” अन्तर्गत बारामा प्रहरीले एकै दिन दुई फरक स्थानबाट करिब एक लाख रुपैयाँ बराबरका अवैध पटाका नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, पहिलो घटनामा असोज २९ गते दिउँसो करिब १२:०० बजेतिर इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी वरिष्ठ नायव निरीक्षक (प्र.ब.ना.नि) धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले रौतहटबाट चितवनतर्फ लैजाँदै गरिएको प्रतिबन्धित पटाका बरामद गरेको हो।
उक्त टोलीले जिल्ला बारा, जीतपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगंजस्थित प्रहरी चेक प्वाइन्टमा चेकजाँचका क्रममा रौतहट ईशनाथ नगरपालिका–९ बस्ने २१ वर्षीय नवल साहले ना २१ प ८४१७ नम्बरको होन्डा युनिर्कण मोटरसाइकलमा लोड गरी लैजाँदै गरेको १ बोरा विभिन्न प्रकारका पटाका फेला पारेको थियो। बरामद गरिएका वस्तुको अनुमानित मूल्य रु.५१,०००/- (एकाउन्न हजार रुपैयाँ) रहेको बताइएको छ। प्रहरी टोलीले उक्त मोटरसाइकलसहित सामान नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
त्यसैगरी, अर्को घटनामा सोही दिन बेलुका करिब ८:३० बजे प्रहरी चौकी बरियारपुरबाट प्र.ब.ना.नि. सिकिन्द्र साहको कमाण्डमा खटिएको टोलीले बागमती प्रदेश–०३–००१ ख–३१२९ नम्बरको यात्रुबाहक बसमा लुकाइ–छिपाइ ल्याइँदै गरेका प्रतिबन्धित पटाका बरामद गरेको हो।
उक्त बस सिम्रौनगढबाट काठमाडौँतर्फ जाँदै गर्दा जिल्ला बारा महागढीमाई नगरपालिका–१ स्थित प्रहरी चौकी अगाडि रोकी जाँच गर्दा बसको डिकीमा रहेको सुटकेसभित्र १६ बन्डल विभिन्न किसिमका पटाका फेला पारेको प्रहरीको भनाइ छ। बरामद गरिएका पटाकाको अनुमानित मूल्य रु.५०,०००/- (पचास हजार रुपैयाँ) रहेको बताइएको छ।
प्रहरीले दुबै घटनामा बरामद भएका पटाका र सवारीसाधन नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) विजयराज पण्डितले दुवै घटनाबारे जानकारी दिँदै प्रहरीले चाडपर्वमा हुने अवैध आतिशबाजी नियन्त्रणमा थप कडाइ गर्ने बताएका छन्।
यसैबीच, बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले चाडपर्वको समयमा आतिशबाजी र पटाका प्रज्वलन नगर्न र नगराउन सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले भने,
“कानुनले प्रतिबन्धित गरेको पटाका, झिरझिरे, रकेट, भुईँचम्पा जस्ता आतिशबाजीजन्य सामानको प्रयोगले आगलागी, दुर्घटना तथा ध्वनि प्रदूषणका कारण जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले सबै नागरिकलाई सचेत रहन अनुरोध गर्दछौं।”
