बारा, असोज ३० ।
जिल्ला प्रहरी कार्यालय बाराले केराउ सहित एक पिकअप गाडी नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार असोज २९ गते बिहान करिब ४:२० बजेको समयमा प्रहरी चौकी पथलैयाबाट प्र.ब.ना.नि. बब्बी बम्जनको कमाण्डमा खटिएको टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. १ पथलैया क्षेत्रमा पचरौताबाट नारायणघाटतर्फ जाँदै गरेको बा.प्र.०१–०३२ च–२९७१ नम्बरको पिकअप गाडीलाई रोकि चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उक्त गाडीमा करिब ३,००० किलो केराउ रहेको र त्यसको बिलभरपाई तथा भन्सार कागजात नभएको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो। बरामद केराउ र गाडीको मूल्य करिब रु. ३ लाख ६० हजार बराबर रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाडी तथा सामानलाई प्रहरीले आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जनाएको छ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) विजयराज पण्डितले जानकारी दिएका छन्।
