वीरगञ्ज, भदौ २९। वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वागाउँबाट प्रहरीले भन्सार छली ओसारपसार गरिरहेको अवस्थामा रु. ११ लाखभन्दा बढी मूल्यका विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको छ।
सूचना परिचालन तथा प्रहरी कारबाहीका क्रममा मिति २०८३ भदौ २७ गते साँझ करिब ६:३० बजे इनर्वागाउँ क्षेत्रबाट भन्सार छली गरी ओसारपसार भइरहेको अवस्थामा प्रहरीले विभिन्न प्रकारका लत्ताकपडा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद लत्ताकपडाको कुल मूल्य रु. ११ लाख २ हजार १ सय ४० रहेको छ।
बरामद गरिएका सामान आवश्यक कानुनी कारबाहीका लागि मिति २०८३ भदौ २८ गते वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले सूचना परिचालनका आधारमा गरिएको कारबाहीमा भन्सार छलीका लत्ताकपडा बरामद गरी भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।
