डीआईजी अधिकारीद्वारा पर्सा प्रहरीको अनुगमन तथा निरीक्षण, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

समाचार

वीरगञ्ज, भदौ २९। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय पर्साको समग्र प्रहरी सेवा प्रवाहको अवस्थाबारे अनुगमन तथा निरीक्षण गर्नुभएको छ।

भदौ २९ गते जिल्ला प्रहरी कार्यालय पर्सामा पुग्नुभएका डीआईजी अधिकारीले कार्यालयको समग्र कार्यसम्पादन, प्रहरी सेवा प्रवाह तथा परिचालनको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक पृष्ठपोषण प्रदान गर्नुभएको हो।

निरीक्षणका क्रममा उहाँले प्रहरी कर्मचारीहरूको कार्यसम्पादन तथा जिम्मेवारीप्रति चासो राख्दै नागरिकलाई छिटो, सहज, निष्पक्ष र प्रभावकारी प्रहरी सेवा उपलब्ध गराउन आवश्यक निर्देशन दिनुभएको बताइएको छ।

डीआईजी अधिकारीले शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउने, नागरिकसँगको प्रहरी सम्बन्ध थप सुदृढ गर्ने र प्रहरी संगठनप्रतिको जनविश्वास अभिवृद्धि गर्ने गरी जिम्मेवारी निर्वाह गर्न सकल दर्जाका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ।

साथै, प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारी, अनुशासन र व्यावसायिक आचरणलाई उच्च प्राथमिकतामा राख्दै कानूनको प्रभावकारी कार्यान्वयनमा दृढ भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

अनुगमन तथा निरीक्षणका क्रममा प्राप्त पृष्ठपोषणलाई कार्यसम्पादनमा आत्मसात् गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, जवाफदेही र नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *