वीरगन्ज, भदौ २९। किर्ते कागजातका आधारमा जन्मदर्ता, नागरिकता तथा राहदानी बनाएको आरोपमा मुद्दा खेपिरहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले विशेष अदालतबाट सफाइ पाएका छन्।
विशेष अदालतको इजलास नम्बर–१ का न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सोमबार उक्त मुद्दामा सुनुवाइ गर्दै मेयर सिंहसहितका प्रतिवादीहरूलाई सफाइ दिने फैसला गरेको हो।
अदालतको फैसलासँगै मेयर सिंहमाथि लागेको उक्त आरोपसम्बन्धी मुद्दाको कानुनी टुंगो लागेको छ। फैसलापछि सिंहको पुनःबहाली भएको भन्दै समर्थक तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
पूर्व खानेपानीमन्त्री प्रदीप यादवले विशेष अदालतको फैसलाको स्वागत गर्दै ‘न्याय मरेको छैन, सत्य हारेको छैन’ भन्दै प्रतिक्रिया दिएका छन्।
यादवले न्याय पाउनु हरेक नागरिकको अधिकार भएको उल्लेख गर्दै सत्यको बाटो केही समय कठिन भए पनि अन्ततः सत्य र न्यायकै जीत हुने बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत मेयर सिंह पुनःबहाली भएकोमा हार्दिक बधाई तथा शुभकामना दिँदै न्यायको पक्षमा फैसला सुनाउने विशेष अदालतका न्यायमूर्तिहरूप्रति सम्मान तथा आभारसमेत व्यक्त गरेका छन्।
यादवले मेयर सिंहको पुनःबहालीले वीरगन्जवासीमा थप आशा, विश्वास र उत्साह जगाएको दाबी गर्दै “वीरगन्जवासीको जय होस्, सत्यको जय होस्, न्यायको जय होस्” भन्ने सन्देशसमेत दिएका छन्।
विशेष अदालतको फैसलापछि वीरगन्ज महानगरपालिकाको नेतृत्व र मेयर सिंहको राजनीतिक भूमिकालाई लिएर देखिएको अन्योलसमेत हटेको छ। फैसल्लासँगै सिंह समर्थकहरूमा उत्साह देखिएको छ।
