काभ्रे,२२ बैशाख । लगातार परेको वर्षाका कारण आएको जोखिमपूर्ण अवस्थाबीच सशस्त्र प्रहरी बलले दुई स्थानमा उद्धार कार्य गरी मानवीय क्षति हुनबाट जोगाएको छ।
काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–५ स्थित बनेपा–खड्पु भित्री सडक खण्डमा पानी जमेर बस अलपत्र पर्दा त्यसमा सवार विद्यार्थी तथा शिक्षकहरू जोखिममा परेका थिए। उक्त अवस्थामा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत अस्थायी मनसुन प्रतिकार्य बेस, पनौतीबाट खटिएको टोलीले ती सबैको सुरक्षित उद्धार गरेको हो।
त्यसैगरी, बैशाख २१ गते परेको अविरल वर्षाका कारण रोशी गाउँपालिका–७ को घुमाउनेस्थित रोशी खोलामा पानीको बहाव बढ्दा यात्रुहरू बीचमै फसेका थिए।
सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले तत्काल उद्धार अभियान सञ्चालन गर्दै फसेकाहरूलाई सुरक्षित स्थानमा ल्याएको जनाएको छ।
वर्षायाम सुरु भएसँगै सम्भावित विपद् व्यवस्थापनका लागि सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै आवश्यक स्थानमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ।
