काठमाडौं ,२२ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शिक्षालय र कर्मचारीतन्त्रमा बढ्दो दलगत प्रभाव अन्त्य गर्न स्पष्ट नीति अघि सारेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विद्यार्थी र कर्मचारी संगठनहरू वर्षौंदेखि दलका “स्लिपर सेल” जस्तै बनेको आरोप लगाएका छन्।

उनका अनुसार योग्यता र क्षमताभन्दा पहुँच, झोला र झण्डाको मूल्य बढ्दा समग्र प्रणालीप्रति जनविश्वास कमजोर बनेको छ। यही अवस्थालाई सुधार गर्न शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्ने निर्णय आवश्यक भएको उनले स्पष्ट पारे।
बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन बनाउन नसकेर यस्तो निर्णय नगरेको उल्लेख गर्दै, “चाहने हो भने आजकै दिनमा ठूला संगठन बनाउन सक्छौं, तर थप संगठनले समस्या समाधान गर्दैन” भनेका छन्। उनले विगतले नै देखाइसकेको भन्दै अब नियुक्ति, सरुवा र बढुवामा दलगत निकटता होइन, विधि, क्षमता र दक्षता आधार बन्नुपर्ने बताएका छन्।
उनले विद्यार्थीलाई सभ्य, जिम्मेवार र विचारयुक्त राजनीति सिक्नुपर्ने र कर्मचारीलाई जनताको सेवा गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिएका छन्। “यो कुनै पार्टीविरुद्धको लडाइँ होइन, प्रणाली र भविष्य जोगाउने प्रयास हो,” उनले उल्लेख गरेका छन्।
सरकारले अध्यादेशमार्फत यी विकृतिहरू हटाउने कदम चालिसकेको जनाउँदै उनले आम नागरिकसँग साथ र विश्वासको अपेक्षा गरेका छन्। “परिवर्तन भाषणले होइन, निर्णयले आउँछ,” भन्दै उनले सरकार जनचाहनाअनुसार काम गर्न प्रतिबद्ध रहेको बताएका छन्।
