प्रधानमन्त्रीद्वारा झापाको वेलडाँगी खानेपानी आयोजना उद्घाटन,खानेपानी मन्त्री यादवद्वारा गर्व र खुशी व्यक्त

बिदेश राजनीति समाचार

झापा, वेलडाँगी -२४ मंसिर ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको वेलडाँगी खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्नुभएको छ। खानेपानी मन्त्री प्रदीप यादवले समारोहमा सहभागी भएर यहाँका नागरिकहरूसँग एकत्रित हुन पाएकोमा गर्व र खुसी व्यक्त गर्नुभयो।

करिब २३ करोडको लागतमा सम्पन्न यो परियोजना नेपाल सरकारको ९० प्रतिशत र स्थानीय उपभोक्ता समितिको १० प्रतिशत साझेदारीमा निर्माण गरिएको हो। परियोजनाले वेलडाँगीका ६,५२१ घरधुरीमा बसोबास गर्ने २६,७४३ जनालाई स्वच्छ र सुरक्षित खानेपानी प्रदान गर्ने उद्देश्य राखेको छ।

मन्त्री यादवले “एक घर, एक धारा” राष्ट्रिय लक्ष्यलाई साकार बनाउन यो आयोजना महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर, वेलडाँगी उपभोक्ता संस्था, दमक नगरपालिका, निर्माण व्यवसायी र यसमा योगदान पुर्‍याउने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले आयोजनाले स्थानीय नागरिकहरूको जीवनस्तर उकास्न ठोस भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी नागरिकहरूले आयोजना सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *