रसीद आलम
सप्तरी, २३ साउन।
लागुऔषध विरुद्धको अभियानलाई तीव्रता दिँदै सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रमुख डिआईजी कृष्ण ढकालको नेतृत्वमा सप्तरी जिल्लाबाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरिएको छ। मधेस प्रदेशलाई लागुऔषध मुक्त बनाउने लक्ष्यका साथ सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत सशस्त्र प्रहरीले सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ स्थित महादेवाबाट करिब ३ सय ९७ केजी गाँजा नियन्त्रणमा लिन सफल भएको हो।
साउन २३ गते बिहानको समयमा प्राप्त विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपालका प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट खटिएको टोली र नेपाल प्रहरीको संयुक्त अपरेसनले सो गाँजा बरामद गरेको हो। बरामद गरिएको गाँजा विभिन्न प्लास्टिकका बोरामा प्याक गरिएको अवस्थामा फेला परेको थियो।
सशस्त्र प्रहरीका अनुसार तस्करीका लागि राखिएको अवस्थामा गाँजा फेला पारिएपछि थप अनुसन्धानका लागि बरामद गरिएको लागुऔषध नेपाल प्रहरीलाई बुझाइएको छ। सुराकीको आधारमा गरिएको छड्के तलासीका क्रममा गाँजालाई तस्करी गर्न लैजाने तयारी भइरहेको बुझिएको छ।
डिआईजी ढकालले मधेस प्रदेशभित्र लागुऔषध कारोबार र ओसारपसारमा संलग्न आपराधिक समूहमाथि कडा निगरानी राख्दै आएका छन्। उनले प्रदेशलाई लागुऔषध मुक्त बनाउने उद्देश्यले सबै सशस्त्र र सुराकी संयन्त्रलाई सक्रिय पारेर सीमावर्ती क्षेत्रहरुमा निगरानी बढाएका छन्।
डिआईजी ढकालले भन्नुभयो, “मधेस प्रदेशलाई लागुऔषध र तस्करीमुक्त क्षेत्र बनाउने हाम्रो अभियान निरन्तर चलिरहनेछ। यस प्रकारका अवैध गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइनेछ।”
यसअघि पनि सशस्त्र प्रहरी बल मधेस प्रदेशको सक्रियतामा बारा, पर्सा, रौतहट, सिरहा, सर्लाही लगायतका जिल्लाबाट ठूलो परिमाणमा गाँजा, लागूऔषध र अन्य तस्करीका सामग्री बरामद गरिसकिएको छ।
प्रदेश भित्र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन र आपराधिक गतिविधिमा संलग्न समूहहरूलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल उच्च सतर्कताका साथ परिचालित गरिएको छ। गाँजासहितको पछिल्लो बरामदगीले लागुऔषध नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिकालाई थप सशक्त बनाएको स्पष्ट देखिएको छ।
