पर्सा प्रहरीको सक्रियता : बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त साह पक्राउ, ३० लाख जरिवाना तोकिएको थियो

समाचार

पर्सा, साउन २३ ।
पर्सा प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले एसपी गौतम मिश्रको नेतृत्वमा सक्रियता देखाउँदै अदालतको फैसलाअनुसार फरार रहेका वीरगञ्ज महानगरपालिका–१६ निवासी ३४ वर्षीय सुनिल कुमार साह (तेली) लाई पक्राउ गरेको हो।

साह “अम्बे ईन्टरप्राइजेज प्रा.लि.” का सञ्चालक हुन्। उनीमाथि सम्मानित पर्सा जिल्ला अदालतमा मुद्दा नं. ०८०-C१-०९६२, लगत नं. ६३०९ अनुसार देवेन्द्र कुमार कर्णको जाहेरीमा वादी नेपाल सरकारको तर्फबाट बैंकिङ कसूर मुद्दा दायर गरिएको थियो।

उक्त मुद्दामा अदालतले साहलाई १० दिन कैद र रु. ३० लाख जरिवाना हुने ठहर गरेको थियो। उनी लुकिछिपी बस्दै आएको सूचना प्राप्त भएपछि मिति २०८२ साउन २२ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको फैसला कार्यान्वयन टोलीले वीरगञ्ज–१६ स्थित निजको घरबाट पक्राउ गरेको हो।

पक्राउपश्चात उनलाई अदालतमा उपस्थित गराइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिएका छन्।

पर्सा प्रहरीले हाल अदालतबाट फैसलापछि फरार रहेका प्रतिवादीहरूलाई खोजी तथा पक्राउ गरी कानुनी दायरामा ल्याउने कार्यलाई तीव्रता दिइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *