बिरगंज ,१७ माघ ।
मानव बेचबिखन तथा ओसारपसार र लैङ्गिक हिंसा अन्त्यका लागि क्रियाशील संस्था “आफन्त नेपाल” ले आफ्नो १८ औं स्थापना दिवस अवसरमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार रोकथामका उपायहरू, कानूनी सचेतना, र जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो। आफन्त नेपालको सो कार्यक्रममा प्रमुख अथिती सशस्त्र प्रहरी बल गुल्म बिरगंजका डिएसपी लोकेन्द्र सुब्बाले नक्कली वा झुट्टा कागजात बनाई प्रलोभनमा परी सीमापार वा अन्य मुलुकमा गैर-कानूनी रूपमा प्रवेश गर्दा मानव बेचबिखन तथा ओसारपसारमा पर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ।
उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराई लगायत स्थानीय भद्र भलादमी , संचारकर्मिहरुको उपस्थिति रहेकोे थियो।
संस्थाले आगामी दिनहरूमा पनि पीडितहरूलाई सहयोग पुर्याउने, जनचेतना अभिवृद्धि गर्ने तथा कानून कार्यान्वयन प्रक्रियामा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। “सचेत रहौं, सुरक्षित रहौं”भन्ने नाराका साथ आफन्त नेपालले अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।
