सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव तीन दिनमै छुटे, उजुरीकर्ताहरू फरार

समाचार

 काठमाडौं, साउन २३ ।साढे ११ करोड रुपैयाँ ठगीको आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव तीन दिन प्रहरी हिरासतमा बसेर मुक्त भएका छन्। श्रीवास्तव आफूविरुद्ध परेको उजुरीपछि अनुसन्धानमा सहयोग गर्न स्वेच्छिक रूपमा जिल्ला प्रहरी परिसर, काठमाडौंतर्फ पुगेका थिए।

गत बुधबार भद्रकालीस्थित प्रहरी कार्यालयमा उपस्थित भएका श्रीवास्तवमाथि प्रारम्भिक अनुसन्धानपछि प्रहरी कार्यालयले तीन दिनको म्याद थप गरी हिरासतमा राखेको थियो। सो अवधिमा अनुसन्धान सम्पन्न भई कुनै ठोस प्रमाण फेला नपरेपछि उनी शुक्रबार रिहा गरिएको हो।

श्रीवास्तवले घटनापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै भने, “उक्त उजुरी मेरो व्यक्तिगत र व्यावसायिक प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले गरिएको थियो। उजुरीकर्ताहरूले विगतमा पनि सिप्रबीमार्फत कुनै कारोबार नगरेको तथ्य खुलेको छ। उनीहरू हाम्रो कम्पनीका आधिकारिक ग्राहक समेत होइनन्।”

उनका अनुसार उजुरी दिने मिता मुरारका अग्रवाल र ज्योति अग्रवालले आफूहरूलाई ११ करोड ५५ लाख रुपैयाँ फिर्ता नपाएको भन्दै जाहेरी दिएका थिए। तर, श्रीवास्तवको दाबी छ कि उनीहरूले सिप्रबीसँग कुनै सेयर कारोबार गरेका छैनन्, न त ग्राहक कोड नै लिएका छन्।

“उनीहरू हाम्रो ग्राहक होइनन् भन्ने कुरा अभिलेखबाटै पुष्टि हुन्छ। उनीहरूले कुनै कारोबार नगरेको, कुनै कोड नरहेको स्पष्ट छ। तसर्थ उजुरीको आधार नै निराधार र बदनियतपूर्ण हो,” श्रीवास्तवले भने।

श्रीवास्तवले यस घटनालाई आफ्नो चरित्र हत्या गर्ने नियतले गरिएको षड्यन्त्रको संज्ञा दिँदै न्याय प्रणालीप्रति आफू पूर्ण रूपमा आशावादी रहेको बताएका छन्। उनले भने, “असत्यमाथि सत्यको जीत हुने नै हुन्छ। मलाई नेपाली कानुनी व्यवस्थामाथि पूर्ण विश्वास थियो र आज त्यो विश्वास प्रमाणित भयो।”

यसबीच, उजुरी दिने भनिएका मिता र ज्योति अग्रवाल हाल फरार रहेको बताइएको छ। श्रीवास्तवका अनुसार उनीहरूलाई सम्पर्क गर्न खोज्दा सम्पर्क बाहिर रहेको  जनाइएको छ।

अब प्रहरी प्रशासनले उजुरीकर्ताहरूको खोजी कार्यलाई तीव्रता दिने तयारी गरेको छ भने,  सो घटनाको सुक्ष्म  अनुसन्धान गरिरहेको छ।

 

सिप्रबी सेक्युरिटिज नेपाल स्टक एक्सचेन्जमा धितोपत्र कारोबार गर्ने अग्रणी कम्पनीमध्ये एक हो। यस्तो गम्भीर आरोप र त्यसपछि उजुरीकर्ताको फरार अवस्था प्रश्न उठाउने विषय भएको जनाइएको छ श्रीवास्तवले भने।

यस घटनाले कुनै पनि व्यक्तिविरुद्ध प्रमाणविना गरिएको उजुरीले कस्तो मानसिक तनाव र प्रतिष्ठामा असर पुर्‍याउन सक्छ भन्ने देखाएको छ। साथै, कानुनी प्रक्रियामा सत्यतथ्यको आधारमा निर्णय हुने आशा अझ बलियो बनाएको श्रीवास्तवको भनाई छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *