बारा, भदौ २८। बाराको जितपुरसिमरा उपमहानगरपालिका–५, बकुलिया टोलबाट हराएका तीन बालबालिका भारतमा सुरक्षित अवस्थामा फेला परेका छन्।
भारत घर भई हाल बकुलिया टोलमा बस्दै आएका मुकेश पासवानका ५ वर्षीय छोरा धिरज पासवान, ७ वर्षीया छोरी सुन्दरी पासवान र १० वर्षीया छोरी काजल पासवान आइतबार बिहान करिब ५ बजेबाट सम्पर्कविहीन भएका थिए।
बालबालिका हराएपछि परिवार तथा प्रहरीले खोजी गरिरहेको अवस्थामा सोही दिन राति करिब ८ बजे उनीहरू भारतको मोतिहारी जिल्ला, रामगढवा थाना–१३ स्थित आफन्तको घरमा सुरक्षित रहेको जानकारी बालबालिकाका बुबा मुकेश पासवानले प्रहरीलाई गराएका हुन्।
बालबालिका सुरक्षित अवस्थामा रहेको जानकारी प्राप्त भएपछि उनीहरूको खोजतलास गर्नुपर्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीले हराएका बालबालिका सुरक्षित फेला परेको जानकारी सम्बन्धित सबैमा गराउँदै यस विषयमा थप खोजतलास आवश्यक नरहेको जनाएको छ।
