सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सुरक्षा निकायको संयुक्त गस्ती

समाचार

वीरगञ्ज, भदौ २८। पर्साको सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा अवैध कारोबार नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती तथा अन्तरक्रिया गरेका छन्।

मिति २०८३ भदौ २८ गते इलाका प्रहरी कार्यालय पोखरियाका कार्यालय प्रमुख, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी बल, नेपालका अधिकारीसहितको संयुक्त टोलीले सीमा क्षेत्रमा संयुक्त गस्ती (Joint Patrol) गरेको पर्सा प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा हुने अवैध वस्तु तथा सामानको तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन, जाली नोटको कारोबार, चोरी तथा डकैतीलगायतका आपराधिक गतिविधि न्यूनीकरण गर्ने उद्देश्यले संयुक्त गस्ती सञ्चालन गरिएको हो।

गस्तीका क्रममा सीमा क्षेत्रको सुरक्षा अवस्था, सम्भावित आपराधिक गतिविधि तथा अवैध ओसारपसारका मार्गबारे स्थलगत अनुगमन गर्नुका साथै दुवै देशका सुरक्षा निकायबीच आवश्यक सूचना आदान–प्रदान र समन्वय गर्ने विषयमा समेत अन्तरक्रिया गरिएको प्रहरीले जनाएको छ।

नेपाल–भारत सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच नियमित समन्वय, संयुक्त गस्ती तथा सूचना आदान–प्रदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

पर्सा प्रहरीले सीमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षालाई थप मजबुत बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय एसएसबीबीचको सहकार्यलाई निरन्तरता दिइने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *