पर्वतका सामुदायिक वनबाट ११ थान अवैध भरुवा बन्दुक बरामद, विशेष अभियानमा हालसम्म १९ थान फेला

समाचार

पर्वत, १९ असार। जिल्ला प्रहरी कार्यालय पर्वतले सञ्चालन गरेको विशेष ‘स्विप अपरेशन’ अन्तर्गत सामुदायिक वन क्षेत्रमा लुकाइएका ११ थान अवैध एकनाले भरुवा बन्दुक बरामद गरेको छ।

प्रहरीका अनुसार वन्यजन्तु तथा पशुपक्षीको अवैध सिकार नियन्त्रण गर्नुका साथै जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम राख्ने उद्देश्यले सञ्चालन गरिएको अभियानका क्रममा कुश्मा नगरपालिका–७ गजौटेस्थित चिसापानी सामुदायिक वनबाट ७ थान र जलजला गाउँपालिका–४ फेदी सौरेनी सामुदायिक वनबाट ४ थान गरी जम्मा ११ थान अवैध भरुवा बन्दुक बेवारिसे अवस्थामा लुकाइराखिएको अवस्थामा फेला पारिएको हो।
बरामद गरिएका सबै बन्दुक आवश्यक कानुनी प्रक्रिया पूरा गरी सुरक्षित रूपमा जिल्ला प्रहरी कार्यालय पर्वतमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले यसअघि पनि यस्तै अभियान सञ्चालन गरी अवैध भरुवा बन्दुक बरामद गर्दै आएको जनाएको छ। पछिल्लो बरामदसँगै हालसम्म जिल्लाका विभिन्न स्थानबाट जम्मा १९ थान बेवारिसे अवैध एकनाले भरुवा बन्दुक बरामद भइसकेको प्रहरीको तथ्यांक छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता प्रहरी निरीक्षक दिनेश पौडेलले अवैध हातहतियार नियन्त्रण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने र शान्ति सुरक्षा तथा वन्यजन्तु संरक्षणमा सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *