वीरगंजको खानेपानी संकट समाधानमा युद्धस्तरको प्रयास, मन्त्री यादवले नगरवासीको सहयोगको अपिल

समाचार

बिरगंज ,२८ असार ।

पर्सा क्षेत्र नम्बर १ का सांसद तथा खानेपानी मन्त्री प्रदीप यादवले वीरगंजमा बढ्दो खानेपानी संकट समाधानका लागि संघीय सरकार, स्थानीय सरकार र नेपाल खानेपानी संस्थानको समन्वयमा युद्धस्तरमा प्रयासहरू भैरहेको बताएका छन्।

हाल वीरगंज महानगरपालिका क्षेत्रमा पानीको चरम अभावका कारण जनजीवन प्रभावित बनेको अवस्थामा समस्या समाधानका लागि डिप बोरिङ जडान, चुहावट नियन्त्रण तथा पानी वितरण प्रणाली सुधार गर्ने काम तीव्र गतिमा भइरहेको मन्त्री यादवले जानकारी दिएका छन्। साथै, खानेपानी संस्थानमार्फत धारा जडान सहज बनाउन आवश्यक जनशक्ति र स्रोतको व्यवस्था गरिएको पनि उनले बताए।

नेपाल खानेपानी संस्थान वीरगंज शाखाले हाल दैनिक ८० लाख लिटर पानी उत्पादन तथा वितरण गरिरहेको छ। तर, संस्थानको अनुगमनका क्रममा सपर्स अस्पताल र शुभलाभ पेट्रोल पम्पको पछाडिको गली क्षेत्र लगायतका स्थानमा अनधिकृत मोटर जडान गरी पाइप फुटाउने, भल्व खोल्ने जस्ता गतिविधि भएको पाइएपछि कृत्रिम अभाव सिर्जना गर्ने नियतसहितको गतिविधि रहेको आशंका गरिएको छ।

मन्त्री यादवले यस्ता क्रियाकलाप संस्थानको छवि बिगार्ने षड्यन्त्र भएको भन्दै नगरवासीलाई यस्तो गलत कार्यको सूचना तुरुन्त नेपाल खानेपानी संस्थानलाई दिन सादर अनुरोध गरेका छन्। “नगरवासीको सहयोग र समन्वयबिना यो संकट समाधान असम्भव छ,” उनले भने, “हामी सबैको साझा उद्देश्य हो — सबै जनताको घर–घरमा सहज रूपमा पानी पुगोस्।”

मन्त्री यादवले नगरवासीलाई सचेत रहन, अनधिकृत कार्यबिरुद्ध जानकारी गराउन र समग्र प्रयासमा सहकार्य गर्न अपिल गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *