अलौ गुल्मका डिएसपी पुजाराको सक्रियतामा अवैध आर्थिक कारोवार ध्वस्त , अवैध रूपमा ल्याएको रकमसहित भारतीय नागरिक पक्राउ ।

समाचार

बीरगञ्ज, २० साउन।

सशस्त्र प्रहरी बल पर्साले अवैध रूपमा रकम ल्याएको आशंकामा एक भारतीय नागरिकलाई नेपाली नगद रु. ४ लाख २८ हजार ३० रुपैयाँसहित मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। उक्त सफलता सशस्त्र प्रहरी बल नेपालका डिएसपी कृष्ण सिंह पुजाराको नेतृत्व र सक्रियतामा सम्भव भएको हो।

प्राप्त विवरण अनुसार, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे.क्वा. पर्साको मातहतमा रहेको सिमा सुरक्षा गुल्म अलौ अन्तर्गत बीओपी प्रसौनीभाठाबाट खटिएको गस्ती टोलीले मिति २०८२ साल श्रावण १८ गते पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५ मा भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको BR 22 AD 0244 नम्बरको मोटरसाइकललाई शङ्काका आधारमा रोकेर जाँच गरेको थियो।

जाँचको क्रममा मोटरसाइकलमा सवार व्यक्ति भारतको पूर्वी चम्पारण, भेलाही ग्राम पंचायत–१०, भेलाही बस्ने अन्दाजी ३२ वर्षका विशाल कुमार रहेको खुलेको छ। उनको साथबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको नेपाली नगद रु. ४,२८,०३०।– फेला परेको हो। साथै उक्त कार्यमा प्रयोग गरिएको मोटरसाइकलको अनुमानित मूल्य रु. १,५०,०००।– रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले उक्त नगद र मोटरसाइकलसहित विशाल कुमारलाई आवश्यक कानूनी कारबाहीको लागि भन्सार कार्यालय वीरगञ्ज, पर्सामा बुझाएको जानकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले दिएका छन्।

नेपाल–भारत खुला सिमानाको दुरुपयोग गर्दै हुने अवैध आर्थिक कारोवार तथा हुण्डी जस्ता गैरकानुनी गतिविधिहरू नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित रुपमा सिमा क्षेत्रमा निगरानी बढाएको छ। पछिल्लो समय सशस्त्र प्रहरीको कडाईका कारण यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू कानूनी दायरामा आइरहेका छन्।

सशस्त्र प्रहरी बल पर्साले सिमा सुरक्षा सुदृढीकरण, तस्करी तथा गैरकानुनी कारोबार नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको एसपी पुरन चन्द्र भट्टले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *