पर्सामा करिब ९ लाख बराबरको सामान नियन्त्रण, भन्सार कार्यालयमा बुझाइयो

समाचार

बिरगंज, २ भदौ।
तस्करी नियन्त्रण अभियानलाई तीब्र बनाउँदै पर्सा प्रहरीले करिब ९ लाख रुपैयाँ बराबरको भन्सार छली चोरी पैठारीका विभिन्न सामानहरू नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रको विशेष निर्देशनमा, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा खटिएको प्रहरी टोलीले मिति २०८२ भदौ १ गते विभिन्न स्थानहरूबाट सामान बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद गरिएका सामानहरूमा लत्ता कपडाका पोकाहरू, जुत्ताहरू, किराना सामान, ड्राईफुडलगायतका उपभोग्य सामग्रीहरू रहेका छन्। यी सबै सामानहरूको अनुमानित मूल्य रु. ८,७०,९८० रहेको बताइएको छ।

बरामद गरिएका सामानहरू आवश्यक अनुसन्धान र कारबाहीका लागि आज मिति २०८२ भदौ २ गते बीरगंज भन्सार कार्यालय पर्सामा पठाइएको पर्सा प्रहरीले जानकारी दिएको छ।

प्रहरीले भन्सार छली गरी अवैध रूपमा सामान भित्र्याउने कार्यमा संलग्नहरूविरुद्ध कडा कारबाही अघि बढाउने चेतावनी दिँदै तस्करी नियन्त्रणलाई अझ प्रभावकारी ढंगले अघि बढाइने प्रतिबद्धता जनाएको छ।

यस प्रकारको अभियानले तस्करी नियन्त्रणमा मात्र नभई राजस्व संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने प्रहरीको भनाइ छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *