रसीद आलम,काठमाडौं, भदौ ३०।
भदौ २३ र २४ गते जेन–जी (Generation Z) ले आह्वान गरेको प्रदर्शनका क्रममा तोडफोड, आगजनी र विभिन्न भौतिक संरचनामा क्षति पुगेको घटनापछि सरसफाइ तथा उद्धारको क्रममा काठमाडौंका विभिन्न स्थानमा रहेका जलेका भवनबाट पहिचान खुल्न नसकेका मानव अस्थिपञ्जरहरू फेला परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार उक्त घटनापछि हराइरहेका वा सम्पर्कमा नआएका आफन्त तथा परिवारका सदस्यबारे जानकारी भएमा तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।
जानकारी दिन प्रहरी कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी परिसर काठमाडौंको सम्पर्क नम्बर ९८५१२८३०१२, mped_comm@nepalpolice.gov.np मा इमेल वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।
