काठमाडौँ, २० कार्तिक ।
सार्वजनिक शान्ति भंग गर्ने, अफवाह फैलाउने र सुरक्षा निकायमाथि आक्रमणको धम्कीपूर्ण अभिव्यक्ति दिने आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन् ।
जिल्ला अर्घाखाँची मालारानी गाउँपालिका–२ घर भई हाल विभिन्न स्थानमा पत्रकार सम्मेलन गर्दै आएका ३२ वर्षीय डा. निकोलस भुसाल (कमल भुसाल) लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भुसालले नेपालकै सार्वभौमसत्ता, भौगोलिक अखण्डता, जातजाति तथा समुदायबीचको सुमधुर सम्बन्धमा प्रतिकूल असर पार्ने गरी “आफूले चाहेमा तत्काल ड्रोन आक्रमण गरी मार्यो भने औकात छैन बाच्न सक्ने तेरो, भर्खर एउटा ड्रोन छोडेर Police Headquarters सकाई दिएँ भन्ने औकात छैन बाच्ने तेरो, एउटा सानो मिसाइल पनि यहीँ माथिबाट रेडी छ, छोडी दिएँ भन्ने बालुवाटार एक सेकेन्डमा ध्वस्त हुन्छ, औकात छैन बाच्ने तेरो, डरायो भन्ने नसोच फेरी” भन्ने जस्ता अभिव्यक्ति दिएका प्रहरीले जनाएको छ।
उनको यस्तो गतिविधिले आम नागरिकमा त्रास फैलाएको र सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार भुसालमाथि यसअघि पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको अभिलेख रहेको छ ।
प्रहरीले भनेको छ— “उनीद्वारा दिइएका अभिव्यक्तिहरूले समाजमा गलत सन्देश र भय फैलाएको पाइएकाले कानूनी कारबाही अघि बढाइएको छ।”
