४७ वर्षपछि फरार कसूरदार पक्राउ

समाचार

स्याङ्जा, २० कार्तिक।

४७ वर्षदेखि फरार रहेका एक कसूरदार अखेर प्रहरीले पक्राउ गरेको छ। स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–७ कल्लेरीका लालबहादुर राना (लाल ब. राना) लाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अपरेसन टोलीले मिति २०८२ साल कात्तिक १७ गते पक्राउ गरेको हो।

प्रहरीका अनुसार मिति २०३५ साल बैशाख १५ गते राति स्याङ्जा जिल्लाको साविक पेलाकोट गाउँपञ्चायत–२ (हाल गल्याङ नगरपालिका–७) का दिलबहादुर रानामगरको घरबाट सुनका गहना र रेडियो चोरी भएको घटनाको सम्बन्धमा दिलबहादुर रानामगरले दिएको जाहेरीका आधारमा नकबजनी चोरी मुद्दा दर्ता गरिएको थियो।

उक्त मुद्दामा स्याङ्जा जिल्ला अदालतले मिति २०४५ साल मंसिर १६ गते फैसला गर्दै दोषी ठहर गरे पनि लालबहादुर राना सो समयदेखि फरार रहेका थिए। अदालतबाट तोकिएको कैद र जरिवाना भुक्तान नगरी लामो समयसम्म लुकीछिपी बस्दै आएका उनलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको हो।

अदालतमा उपस्थित गराएपछि उनलाई कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रसन्न राज चौधरीले जानकारी दिए।

डीएसपी चौधरीका अनुसार लामो समयदेखि फरार रहेका पुराना मुद्दाका अभियुक्तहरूलाई पक्राउ गर्न प्रहरीको विशेष अभियान निरन्तर रूपमा सञ्चालन भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *