मधेस प्रदेशका विभिन्न जिल्लामा सशस्त्र प्रहरी प्रमुख डिआईजी ढकालद्वारा निरीक्षण,सीमा सुरक्षा तथा जनमुखी सेवा प्रवाह सुदृढीकरणका लागि निर्देशन

समाचार

रसीद आलम ,मधेस प्रदेश, १९ कार्तिक।

सशस्त्र प्रहरी बल, नेपाल मधेस प्रदेश प्रमुख डिआईजी कृष्ण ढकालले हालै मधेस प्रदेशका विभिन्न जिल्लास्थित सशस्त्र प्रहरी युनिटहरूको स्थलगत निरीक्षण गर्दै तस्करी नियन्त्रण, सीमा सुरक्षा तथा जनमुखी सेवा प्रवाह सुदृढीकरणका लागि निर्देशन दिनुभएको छ।

डिआईजी ढकालले निरीक्षणको क्रममा सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका सशस्त्र प्रहरी युनिटहरूको गतिविधि, कार्यसम्पादन, सुरक्षा अवस्था र स्थानीय जनताको सहभागितासँग सम्बन्धित विषयहरूबारे विस्तृत जानकारी लिनुका साथै सम्बन्धित प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, सञ्चारकर्मी र सिमावासी समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम समेत गर्नुभएको थियो।

अन्तरक्रियाका क्रममा उहाँले सशस्त्र प्रहरी बलको प्रमुख दायित्व देशको सीमा सुरक्षा, तस्करी नियन्त्रण र गैरकानुनी गतिविधिको रोकथाम रहेको उल्लेख गर्दै यी चुनौतीपूर्ण जिम्मेवारीहरू निर्वाह गर्न सशस्त्र प्रहरीका प्रत्येक सदस्यले निष्ठा, पारदर्शिता र सेवा भावका साथ कार्य गर्नुपर्नेमा जोड दिनुभयो।

डिआईजी ढकालले भन्नुभयो —

“खुला सीमाका कारण मधेस प्रदेशमा तस्करी, गैरकानुनी ओसारपसार र सीमा अपराधका गतिविधिहरू बढ्ने सम्भावना रहन्छ। यी चुनौतीहरूलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले स्थानीय निकाय, अन्य सुरक्षा निकाय र सिमावासी जनतासँग सहकार्य गर्दै सीमाको सुरक्षा मजबुत बनाइरहेको छ।”

निरीक्षणका क्रममा उहाँले सशस्त्र प्रहरीका सदस्यहरूलाई अनुशासन, व्यावसायिक आचरण र सेवा प्रवाहको गुणस्तर अभिवृद्धि सम्बन्धी निर्देशनसमेत दिनुभयो। साथै, कार्यालय भवन, शाखा र आवासीय संरचनाको स्थलगत अवलोकन गरी आवश्यक सुधारका सिफारिस पनि गर्नुभयो।

उहाँले सशस्त्र प्रहरी र स्थानीय जनताबीचको विश्वास, सहकार्य र आपसी समन्वय सुदृढ गर्न आग्रह गर्दै जनमुखी सेवा, पारदर्शी कार्यशैली र अनुशासित व्यवहारबाट संगठनको छवि अझ उच्च बनाउने उद्देश्य व्यक्त गर्नुभयो।

सशस्त्र प्रहरी बल, मधेस प्रदेशले हाल प्रदेशभर तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। सीमाक्षेत्रहरूमा गस्ती, सूचना संकलन र स्थानीय समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै गैरकानुनी सामान ओसारपसार र आपराधिक गतिविधिमा संलग्न समूहमाथि निगरानी र कानूनी कारबाही बढाइएको डिआईजी ढकालले जानकारी दिनुभयो।

सशस्त्र प्रहरी बलका अनुसार, मधेस प्रदेशभर फैलिएका युनिटहरूले सुरक्षा सुदृढीकरण, सीमाको निगरानी र जनसेवामुखी कार्यशैलीलाई प्राथमिकता दिँदै कार्य सञ्चालन गरिरहेका छन्। डिआईजी ढकालको यस निरीक्षणले संगठनका सदस्यहरूमा थप उत्साह, अनुशासन र जिम्मेवारीबोध थपिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *