सशस्त्रका डिएसपी भण्डारीको नेतृत्वमा कटुवा पेस्तोलसहित दुई युवक पक्राउ

समाचार

पर्सा, १९ कात्तिक।
सशस्त्र प्रहरी बल नेपाल, पर्सा मातहतको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले कटुवा पेस्तोलसहित दुई युवकलाई पक्राउ गर्न सफल भएको छ।

सशस्त्र प्रहरीका अनुसार मिति २०८२ साल कात्तिक १९ गते अन्दाजी दिउँसो १२:३० बजेको समयमा नेपाल–भारत सीमाक्षेत्रमा संयुक्त गस्ती भइरहेको समयमा उक्त घटना भएको हो।
उक्त संयुक्त गस्ती टोलीमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सप्रनाउ पुरुषोत्तम भण्डारीको नेतृत्वमा ९ जना सशस्त्र प्रहरी जवान तथा भारतीय सीमा सुरक्षा बल (SSB) ४७ बटालियन, ए कम्पनी हेडक्वार्टर पन्टोका बाट एसी सचिन सिंहको कमाण्डमा ५ जना भारतीय सुरक्षाकर्मी सहभागी थिए।

संयुक्त गस्ती टोलीले नेपाल तर्फ पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–१६ इनर्वा र भारत तर्फ पूर्वी चम्पारण जिल्ला, नुनियाडी पंचायत–१, अहिर्वा नजिक सानो सीमा स्तम्भ नं. ३९०/२२ आसपास क्षेत्रमा नियमित गस्ती गर्ने क्रममा दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–५ कुमालटोल घर भएका अन्दाजी १८ वर्षीय सुमित कुमार मण्डल र जिल्ला बारा, जितपुर–सिमरा उपमहानगरपालिका–७ बस्ने अन्दाजी २८ वर्षीय संजय कुमार साह कलवार रहेका छन्। सशस्त्र प्रहरीका अनुसार उनीहरू झाडीमा लुकीछिपी बसेको अवस्थामा फेला परेका थिए।

तलासीका क्रममा उनीहरू बसिरहेको स्थानमै एक बोरा भित्र लुकाइराखिएको कटुवा पेस्तोल १ थान फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका मध्ये संजय कुमार साह कलवार लठ्ठ अवस्थामा रहेको कारण उनलाई तत्कालै उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको थियो।

फेला परेका पेस्तोल तथा पक्राउ परेका दुबैजनालाई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सा मा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

सशस्त्र प्रहरीका डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा भएको उक्त सफल अपरेसनले सीमा क्षेत्रमा गैरकानुनी गतिविधि नियन्त्रणमा सहयोग पुर्‍याउने विश्वास सशस्त्र प्रहरीले व्यक्त गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *