बारा,१० कार्तिक । सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रण अभियानलाई तीव्रता दिँदै बाराबाट रु. १ लाख ४० हजार बराबरका हरियो तरकारी तथा किराना सामान बरामद गरेको छ।
मिति २०८३ कात्तिक ९ गते बाराको विश्रामपुर गाउँपालिका–१, कल्याणपुरस्थित सीमावर्ती क्षेत्र तथा छतुवाबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल बीओपी बरैनियाबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनि) गणेश खत्रीको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीलाई देखेपछि साइकलको प्रयोग गरी ल्याइँदै गरेका सामान छाडि ब्यक्तिहरु फरार भएकोले नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।सशस्त्र प्रहरी बाराका अनुसार गस्ती टोलीले भने भन्सार छली गरी ल्याइएका हरियो तरकारी तथा किराना सामान बरामद गरेको जनाएको छ।
बरामद सामानमा फूलकोभी, परवल, खुर्सानी, कागतीलगायतका हरियो तरकारी तथा विभिन्न किराना सामग्री रहेका छन्। ती सामानको कुल अनुमानित मूल्य रु. १ लाख ४० हजार रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाही तथा राजस्व असुलीका लागि सम्बन्धित भन्सार कार्यालयमा दाखिला गरिएको छ।
सीमावर्ती क्षेत्रमा साइकललगायतका विभिन्न माध्यम प्रयोग गरी भन्सार छली सामान ओसारपसार गर्ने गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई निरन्तरता दिँदै आएको छ। पछिल्लो बरामदगीले सीमा क्षेत्रमा अवैध सामानको ओसारपसार रोक्न सशस्त्र प्रहरी सक्रिय रहेको देखाएको छ।
