बारा ,१० कार्तिक । सशस्त्र प्रहरी बल, नेपालले लागूऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै बाराको सीमा क्षेत्रमा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध इन्जेक्सन बरामद गरेको छ।
मिति २०८३ कात्तिक ९ गते बारा जिल्लाको कलैया उपमहानगरपालिका–१०, सनीचरेमठस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले विभिन्न प्रकारका प्रतिबन्धित लागूऔषध इन्जेक्सन बरामद गरेको हो।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको टोलीले सीमा क्षेत्रमा निगरानी तथा चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद गरेको जनाइएको छ।
सशस्त्र प्रहरी बाराका अनुसार बरामद लागूऔषधमा DIAZEPAM INJECTION IP ५०० पिस, IPPL Buprenorphine Injection I.P. १९५ पिस, Noophin Buprenorphine Injection I.P. ३०० पिस र Abbott Promethazine Hydrochloride Injection I.P. ५०० पिस रहेका छन्।
बरामद गरिएका चार प्रकारका इन्जेक्सनको कुल सङ्ख्या १ हजार ४९५ पिस रहेको छ। ती लागूऔषध आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।
सीमावर्ती क्षेत्रमा लागूऔषधको अवैध ओसारपसार तथा कारोबार नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई निरन्तरता दिँदै आएको छ। पछिल्लो बरामदगीले सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि सुरक्षा निकायको सक्रियता थप महत्त्वपूर्ण रहेको देखाएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न गस्ती, निगरानी तथा चेकजाँचलाई प्रभावकारी बनाउँदै लागूऔषधको अवैध कारोबारमा संलग्न सञ्जालमाथि निगरानी बढाउनुपर्ने आवश्यकता रहेको छ।
