बारा, २० चैत। जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले धारिलो हतियार (तरवार) प्रहार गर्ने एक युवकलाई पक्राउ गरेको छ।
बारा प्रहरीका अनुसार चैत १९ गते साँझ करिब ७:३० बजे जीतपुर–सिमरा उपमहानगरपालिका वडा नं. २ स्थित आन्तरिक राजस्व कार्यालय नजिक उक्त घटना भएको हो।
प्रहरीका अनुसार टायल डेलिभरीका लागि पुगेका जीतपुर–सिमरा उपमहानगरपालिका वडा नं. ४ बस्ने अन्दाजी २८ वर्षीय राजेन्द्र प्रसाद दाहालले घरधनीको घर पहिचान गर्न नसकेपछि स्थानीय मुन्ना अन्सारीका छोरा अन्दाजी २५ वर्षीय राज अन्सारीसँग सोधपुछ गरेका थिए।
सोही क्रममा सामान्य विवाद उत्पन्न भई राज अन्सारीले आवेशमा आई साथमा रहेको तरवार प्रहार गर्दा दाहालको बाँया कोखामा चोट लागेको प्रहरीले जनाएको छ।
दाहालसँगै रहेका सहचालक मोहमद ओजिरले झगडा छुट्याउने क्रममा उनलाई पनि प्रहार हुँदा दाहिने हातको बुढी औंलामा चोट लागेको थियो।
घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले घटनास्थलबाटै राज अन्सारीलाई तरवारसहित नियन्त्रणमा लिई अनुसन्धानका लागि हिरासतमा राखेको जनाएको छ।
घाइते दुवै जनालाई उपचारका लागि सिमरास्थित अस्पतालमा पठाइएकोमा उपचारपछि डिस्चार्ज गरिएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
