वीरगञ्ज, २० चैत। पर्साको पोखरियास्थित मालपोत कार्यालय परिसरमा अनधिकृत रूपमा प्रवेश गरी सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न तीन जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको टोलीले बिचौलियामाथि कडाइ गर्दै उक्त कारबाही गरेको हो। नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
प्रहरीका अनुसार मालपोत कार्यालयभित्र अनावश्यक रूपमा प्रवेश गरी सेवाग्राहीलाई दुःख दिने, काम छिटो गरिदिने भन्दै प्रभाव पार्ने तथा कर्मचारीमाथि समेत दबाब सिर्जना गर्ने गतिविधि भइरहेको भन्ने गुनासोका आधारमा कारबाही गरिएको हो।
प्रहरी निरीक्षक पौडेलले कार्यालयभित्र बाहिरी व्यक्तिको अवाञ्छित हस्तक्षेप बढेको गुनासो आएपछि निगरानी बढाइएको बताए। “कार्यालयभित्र छिरेर सेवाग्राही र कर्मचारीलाई दुःख दिने गतिविधि बढेको सूचना प्राप्त भएपछि तीन जनालाई नियन्त्रणमा लिइएको हो,” उनले भने।
नियन्त्रणमा लिइएका व्यक्तिहरूले आफूहरू लेखापढी व्यवसायी भएको दाबी गरेका छन्। तर, उनीहरूको दाबीको सत्यता तथा संलग्न गतिविधिबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ।
यसैबीच, भूमि व्यवस्थापन तथा अभिलेख विभागले हालै देशभरका मालपोत तथा भूमि सुधार कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गर्न निर्देशन दिएको छ। विभागले जारी गरेको परिपत्रमा कार्यालयका गोप्य तथा संवेदनशील कागजातहरूमा बिचौलिया तथा बाहिरी व्यक्तिहरूको पहुँच बढ्दै गएको भन्दै त्यस्तो गतिविधि नियन्त्रण गर्न स्पष्ट निर्देशन दिइएको उल्लेख छ।
विभागको उक्त निर्देशनपछि स्थानीय प्रशासन तथा प्रहरी निकायले समेत निगरानी बढाएका छन्। सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।
मालपोत कार्यालयजस्ता संवेदनशील निकायमा बिचौलियाको सक्रियता नियन्त्रण गर्न गरिएको यस कारबाहीलाई सेवाग्राहीले सकारात्मक रूपमा लिएको स्थानीय स्रोतले जनाएको छ।
