सडक विस्तारसँगै वीरगञ्जमा खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तार हटाउने अभियान तीव्र

समाचार

वीरगञ्ज,२३ साउन ।  सडक विस्तारका क्रममा उत्पन्न भएका खाल्डाखुल्डी तथा सडक र विद्युत् पोलमा अव्यवस्थित रूपमा रहेका तार व्यवस्थापन गर्न वीरगञ्ज महानगरपालिकाले अभियानलाई तीव्रता दिएको छ।

महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको निर्देशन तथा सरसफाइ शाखा प्रमुख सरफुद्दिन अन्सारीको प्रत्यक्ष नेतृत्वमा नगर क्षेत्रका जोखिमपूर्ण खाल्डाखुल्डी पुर्ने, बिग्रिएका सडक मर्मत गर्ने र विद्युत् पोलमा झुन्डिएका काम नलाग्ने तथा अलपत्र तार हटाउने काम अघि बढाइएको हो।

विशेषगरी मुख्य बजार क्षेत्रमा सडक विस्तारका क्रममा डोजरको प्रयोगसँगै ठाउँ–ठाउँमा खाल्डाखुल्डी बनेका थिए। सडकमा चुँडिएका तथा अव्यवस्थित तारसमेत थपिँदा पैदलयात्री र सवारीचालकलाई आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको थियो।

नागरिकले भोग्दै आएको असुविधालाई मध्यनजर गर्दै महानगरपालिकाले तत्काल समस्या समाधान गर्ने उद्देश्यले सडक मर्मत तथा तार व्यवस्थापनको कामलाई प्राथमिकतामा राखेको जनाएको छ।

सरसफाइ शाखा प्रमुख सरफुद्दिन अन्सारीका अनुसार सडकमा रहेका जोखिमपूर्ण खाल्डाखुल्डी पुर्ने तथा विद्युत् पोलमा टाँगिएका प्रयोगविहीन र अलपत्र तार हटाउने काम भइरहेको छ। वीरगञ्जलाई व्यवस्थित, सुरक्षित र सुन्दर सहर बनाउने उद्देश्यले अभियानलाई निरन्तरता दिइने उनले बताए।

महानगरपालिकाको सक्रियतासँगै मुख्य बजार क्षेत्रमा यातायात आवागमन सहज हुनुका साथै सडकमा हुने सम्भावित दुर्घटनाको जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ।

महानगरले सडक विस्तारसँगै उत्पन्न हुने अस्थायी समस्यालाई समयमै व्यवस्थापन गर्दै नागरिकलाई सुरक्षित र सहज आवागमनको वातावरण उपलब्ध गराउने प्रयास थालेको हो।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *