यातायात कार्यालय गौर दलालको केन्द्र बन्यो, दुई पक्राउ

समाचार

रौतहट,२० जेठ ।रौतहट जिल्ला सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यालय दलालहरूको केन्द्र बनेको छ।

दुई पांग्रे चारपांग्रे सवारी चालक अनुमति पत्र पैसाको भरमा सजिलै पाइने हुँदा गौर कार्यालय दलालको लागि आकर्षणको केन्द्र बनेको हो।

यसैबीच, गौरको ट्रायल सेन्टरबाट दुई जना दलाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ। ट्रायल सेन्टरमा दलालहरूले लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुलको गुनासो आएपछि दुई जना दलाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएपी एलिजा गिरीले बताएकी छिन्।

पक्राउ पर्नेमा चितवन भरतपुर-१० बस्ने ४५ वर्षीय रमेश पाठक र गौर नगरपालिका-१ बस्ने बर्ष ४८ को श्यामनारायण साह रहेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

पक्राउ परेका दुवै जनामाथि मुद्दा दर्ता तथा म्याद थपको प्रक्रिया जारी रहेको तथा प्रक्रिया पूरा भएपछि घटनाबारे पूर्ण विवरण सार्वजनिक गर्ने डिएसपी गिरीले बताइन्।

पछिल्लो समय यातायात कार्यालय गौरमा हरेक समय स्थानीयदेखि काठमाडौंसम्मका दर्जनौं दलाल घुमिरहेको देख्न सकिन्छ।

दलालमार्फत खुलेयाम रकम लिएर चालक अनुमति पत्र खरिद-बिक्री हुने गरेको गुनासो बढ्दै गएको छ। स्कुटर, जिप, कार, टेम्पो, ट्याक्टर लगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारी लगायतका कार्यको लागि आर्थिक लेनदेन दलालमार्फत् हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन्।

कार्यालयका प्रमुख अरविन्द दासले आरोपको खण्डन गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *