रसीद आलम ,पर्सा,१६ मंसिर ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा तथा मातहतका युनिटहरूले श्रावण, भाद्र, आश्विन र कात्तिक महिनामा विभिन्न अवैध सामान र लागुऔषध बरामद गरेका छन्।
यस अवधिमा कुल मुल्य रू. १५ करोड १८ लाख् १९ हजार ८३ रुपैयाँ ४० पैसा बराबरको अवैध सामान बरामद भएको छ। जसमा रू. १२ करोड ५३ लाख ८८ हजार ९ सय ३३ रुपैयाँ ८० पैसा बराबरको चोरी निकासी तथा पैठारी गरिएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटर पार्टस, खाद्यान्न र किराना सामान भन्सार कार्यालयमा बुझाइएको छ। त्यस्तै, रू. २ करोड ६४ लाख ३० हजार १ सय ४९ रुपैयाँ ५६ पैसा बराबरको अन्य अवैध सामान राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डिएसपी बिष्णु हरि घिमिरेले जानकारी दिएका छन् ।
यस्तै, ५३१ क्यूबिक फिट, मुल्य रू. १४ लाख ५१ हजार ६ सय २५ बराबरको अवैध काठ बरामद गरी सम्बन्धित कार्यालयमा बुझाइएको छ।
लागुऔषधतर्फ २३६.६७ किलोग्राम गाँजा, १४.९६० किलोग्राम चरेस, ८४१ एम्पुल डाईजापाम, १२ एम्पुल फेनार्गन, ८७० एम्पुल नुफिन र ६,८७४ ट्याबलेट नाइट्रोभेट बरामद गरिएको छ। यी सबै लागुऔषध सम्बन्धित कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अवैध कारोबार तथा लागुऔषध नियन्त्रणमा आफ्नो अभियानलाई निरन्तर रूपमा जारी राखेको १३ नम्बर गणका गणपति एसपी राधेश्याम धिमालले बताएका छन् ।
