वीरगञ्ज, १६ मंसिर
अहमदिया संघ नेपालको आयोजनामा “प्रेम सबैलाई गरौं, घृणा कसैलाई नगरौं” भन्ने मूल नाराका साथ ९ औं वार्षिक जलसा सालाना समारोह पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५, प्रसौनी भाट्ठास्थित श्री मसरुर पब्लिक आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ। दुई दिने कार्यक्रम संघका अध्यक्ष मोइन अहमदको अध्यक्षतामा सम्पन्न भएको हो।
समारोहमा देशभरका अहमदिया समाजका सदस्यहरूसहित संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो। यस अवसरमा पूर्व प्रदेश सभा सदस्य प्रह्लाद गिरी, पकहाँ मौनपुर गाउँपालिकाका अध्यक्ष सुरेश महतो, जसपाका नेता तवरेज अहमद, सिख धर्मगुरु हरमिन्दर सिंह, ओम शान्तिका प्रवक्ता कुवेर कुमार, क्रिश्चियन समाजका प्रेमप्रसाद घिमिरे, तथा वडा अध्यक्षलगायत विभिन्न धर्मगुरु, बुद्धिजीवी र समाजसेवीहरूको उपस्थिति देखियो।
वक्ताहरूले अहमदिया संघ नेपालले २७ वर्षदेखि गर्दै आएको मानव सेवा र समाज सेवाका कार्यहरूको प्रशंसा गर्दै विश्व शान्ति स्थापनाका लागि समुदायको प्रयास सराहनीय रहेको बताए। कार्यक्रममा सहभागी विभिन्न धर्मगुरुहरूले मानवता र शान्ति कायम गर्नका लागि यस प्रकारका कार्यक्रम आवश्यक भएकोमा जोड दिए।
समारोहमा अहमदिया संघ नेपालद्वारा सञ्चालन गरिएको श्री मसरुर पब्लिक आधारभूत विद्यालयले नि:शुल्क शिक्षा प्रदान गर्दै आएको कार्यलाई अमूल्य समाज सेवा भन्दै प्रशंसा गरियो। उपस्थित धर्मगुरुहरूले मानवता र शान्ति स्थापनाका उपायबारे आफ्ना विचार साझा गरे।
कार्यक्रमको उद्देश्य सबै धर्मका व्यक्तित्वहरूलाई एकै ठाउँमा भेला गराई मानवताका लागि साझा उद्देश्यमा छलफल गर्नु रहेको थियो। राष्ट्रिय अध्यक्ष कमरुल होदा अन्सारीले धर्म, राष्ट्रिय एकता र धार्मिक सहिष्णुताको संरक्षण तथा “प्रेम सबैलाई गरौं, घृणा कसैलाई नगरौं” भन्ने नारालाई विश्वभर फैलाउन यस कार्यक्रमले योगदान गर्ने बताए।
अहमदिया मुस्लिम जमाअतले कुनै राजनीतिक उद्देश्य नराखी धार्मिक र अध्यात्मिक मान्यतामा आधारित सेवा गर्दै आएको बताइएको छ। विश्वका २१६ देशमा सक्रिय यस जमाअतका वर्तमान आध्यात्मिक नेता पाँचौं खलीफा हजरत मिर्जा मसरूर अहमद हुन्। धर्मका नाममा हुने हिंसा, अन्याय र आतंकको विरोध गर्दै मानव जातिलाई प्रेम र एकतामा आबद्ध गराउनु जमाअतको मूल लक्ष्य रहेको आयोजकले बताए।
कार्यक्रमको सञ्चालन अहमदिया संघ नेपालका हासिम अहमदले गरेका थिए।
