विराटनगर महानगरमा सार्वजनिक रूपमा सूर्तीजन्य पदार्थ बिक्री र हुक्का बार व्यवस्थापनमा कडाइ

बिदेश राजनीति समाचार

विराटनगर,२० पुस। विराटनगर महानगरपालिकाले सूर्तीजन्य पदार्थ सेवन र बिक्रीमा रोक लगाउन र हुक्का बार तथा क्याफे व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ।

मेयर नागेश कोइरालाको नेतृत्वमा महानगरपालिकाले चिया पसल, हुक्का बार र क्याफेमा विद्यालय पोशाकमा आएका विद्यार्थीहरूले हुक्का सेवन गरेको गुनासोलाई ध्यानमा राख्दै यो कदम चालेको हो।

महानगरले सार्वजनिक रूपमा सूर्तीजन्य पदार्थ बिक्री तथा सेवन रोक्नका लागि व्यवसायीहरूसँग छलफल गर्दै विद्यालय पोशाक लगाएका विद्यार्थीलाई हुक्का र सूर्तीजन्य पदार्थ बिक्री नगर्ने निर्णय गरेको छ। व्यवसाय दर्ता खारेज गर्ने र कारबाही सिफारिस गर्ने चेतावनी पनि दिइएको छ।

यसैगरी, व्यवसायहरूले अनिवार्य पार्किङको व्यवस्था गर्नुपर्ने निर्णय गरिएको छ। निर्णय कार्यान्वयन गर्न नगर प्रहरी प्रमुख राजन पौडेलको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ।

छलफलमा सहभागी व्यवसायीहरूले महानगरको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले विगतका कमी कमजोरी सच्याउँदै विद्यार्थी पोशाकमा आएका युवायुवतीलाई हुक्का तथा सूर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने बताए।

महानगरले निर्णय पालना भए-नभएको निगरानी राख्दै कार्यान्वयन सुनिश्चित गर्ने जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *