बारामा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ, ७६ हजारभन्दा बढी नगद बरामद

समाचार

बारा,२१ कार्तिक  । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा जुवा (तास) खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट ७६ हजार ३९० रुपैयाँ नगदसमेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मिति २०८३ साल कार्तिक २० गते राति करिब १०:१५ बजेको समयमा जितपुर सिमरा उपमहानगरपालिका–१८ स्थित कटाटोलमा रहेको गोरी माया तामाङको बाख्राको गोठमा जुवा खेल भइरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो।

उक्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक (प्रनाउ) दयाकृष्ण भट्टको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले छापा मार्दा जुवा खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट जुवामा प्रयोग भइरहेको नगद ७६ हजार ३९० रुपैयाँ बरामद गरी उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरा, बारामा ल्याई राखेको जनाएको छ।

प्रहरी नियन्त्रणमा पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका–१७ निवासी ३१ वर्षीय उपेन्द्र प्रसाद साह, ६१ वर्षीय मिनबहादुर थिङ, ३६ वर्षीय कुमार थिङ, ३७ वर्षीय जिम्बु चौधरी, ४९ वर्षीय सितलाल तामाङ र ३० वर्षीय वाङ तामाङ रहेका छन्।

त्यसैगरी कलैया उपमहानगरपालिका–२१ निवासी ५५ वर्षीय देवचन्द्र प्रसाद चौधरी र ३१ वर्षीय रमेश साह पनि पक्राउ परेका छन्।

चाडपर्व तथा अन्य अवसरमा हुने जुवातासलगायतका गैरकानुनी गतिविधि नियन्त्रण गर्ने अभियानअन्तर्गत प्रहरीले निगरानी र कारबाहीलाई तीव्रता दिएको छ। पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *