राजस्व अनुसन्धान कार्यालय पथलैयाको नेतृत्वमा चुहावट नियन्त्रण, मागदाबी रकम १२ हजार प्रतिशतले वृद्धि

बिदेश राजनीति समाचार

बारा, ४ माघ
राजस्व अनुसन्धान कार्यालय पथलैयाको प्रमुख हरि प्रसाद शर्माको आगमनपछि राजस्व चुहावट नियन्त्रण र तस्करीजस्ता गैरकानुनी गतिविधिमा उल्लेखनीय कमी आएको छ। शर्माको इमान्दार र निष्ठावान नेतृत्वका कारण कार्यालयले राजस्व चुहावट मुद्दामा मागदाबी रकम १२६१६.८ प्रतिशतले वृद्धि गर्दै ५४ लाखबाट ६८ करोड ७३ लाख पुरयाउन सफल भएको छ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनाको विवरणअनुसार, कार्यालयले राजस्व चुहावट धरौटी रकममा ९६ प्रतिशत वृद्धि गर्दै २ करोड ९८ लाख पुर्‍याएको छ भने भिसिटिएस जरिवाना रकम पनि ३५.५ प्रतिशतले बढेर ४७ लाख ४३ हजार पुगेको छ। यसैगरी, राजस्व चुहावट मुद्दा दर्ता संख्या ७०० प्रतिशतले वृद्धि भई १ बाट ८ पुगेको छ। विदेशी विनिमय मुद्दा पनि ६ वटा दर्ता भएका छन्, जसको मागदाबी रकम १ करोड ५६ लाख रहेको छ।

राजस्व चुहावटमा कडा नियन्त्रण गर्दै सेवाग्राहीलाई सहज र झन्झटरहित सेवा प्रदान गर्न कार्यालयले विशेष पहल गरेको छ। प्रमुख शर्माले कार्यालयभित्र बिचौलियाको प्रवेशलाई पूर्णत: निषेध गर्दै सेवाग्राहीलाई सरल वातावरण निर्माण गरेको बताएका छन्।

“मेरो मातहतका कुनै कर्मचारीले आर्थिक प्रलोभनमा परेर सेवाग्राहीलाई दुःख दिने कार्यमा संलग्न भएको प्रमाणित भएमा कडा कारबाही गर्नेछु,” शर्माले प्रतिबद्धता जनाए।

उनको नेतृत्वमा राजस्व चुहावट नियन्त्रणको सफलता, अनुशासनमा सुधार, र सुशासनको प्रत्याभूति गरिएको छ। स्थानीय बुद्धिजीवी र समाजका अगुवाले प्रमुख शर्माको कामको प्रशंसा गर्दै कार्यालयलाई उदाहरणीय बनाएको बताएका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *