बारा, चैत २०।
प्रहरीले राजश्व छलिका आशंकामा ३५ लाख ६४ हजार बराबरको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१, पथलैया चौकस्थित प्रहरी चौकी पथलैयाबाट खटिएको चेकिङ टोलीले मिति २०८१ चैत १९ गते राति करिब २२:०० बजे विराटनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २४२१ नम्बरको ट्रकलाई शंका लागि रोकी चेकजाँच गरेको थियो।
जाँचका क्रममा बिल भर्पाइभन्दा बढी मालसामान रहेको पाइएकाले राजस्व छलिएको आशंकामा ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ट्रकमा ३५ लाख ६४ हजार २ रुपैयाँ बराबरको खुद्रा सामान (जुता, चप्पल, डायपर, स्टेसनरी सामग्री) रहेको पाइएको छ।
नियन्त्रणमा लिइएको ट्रक तथा सामानलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको प्रहरीले जानकारी दिएको छ।
