पत्रकार राजु बैठामाथि ज्यान मार्ने धम्की : दोषीमाथि कडा कारबाहीको माग

समाचार

पर्सा ,६ जेठ ।रसीद आलम

प्रेस चौतारी नेपाल, पर्सा शाखाका कार्यसमिति सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल, बारा शाखाका उपाध्यक्ष पत्रकार राजु बैठामाथि ज्यान मार्ने धम्की दिएको घटनाले स्थानीय पत्रकारिता क्षेत्रलाई स्तब्ध बनाएको छ। पत्रकार बैठाले विश्रामपुर गाउँपालिकामा भएको तटबन्ध निर्माणमा देखिएको अनियमितता र माटो खनी बिक्रीबारे समाचार प्रकाशित गरेपछि स्थानीय टईट यादवले घरमै पुगेर गालीगलौज गर्दै धम्की दिएका हुन्।

२०८२ जेठ ४ गते राति ९ बजे विश्रामपुर गाउँपालिका–२ निवासी टईट यादवले पत्रकार बैठाको घरमै पुगेर अश्लील शब्द प्रयोग गर्दै ‘ट्याक्टर, टिपर र डोजर देखाएर उपाय लगाईदिन्छु’ भन्ने जस्ता धम्कीपूर्ण व्यवहार गरेका थिए। पत्रकार बैठाले वैशाख २५ गते बङ्गरी नदी क्षेत्रबाट माटो उत्खनन र तटबन्ध निर्माणका नाममा भइरहेको अनियमितताबारे तथ्यगत समाचार प्रकाशन गरेका थिए। यही समाचारप्रति असन्तुष्टि जनाउँदै यादवले पत्रकारमाथि अपमानजनक व्यवहार गरेका हुन्।

घटनापछि राष्ट्रिय दलित पत्रकार संघ नेपाल, बारा शाखा र प्रेस चौतारी नेपाल, पर्सा शाखाले विज्ञप्ति जारी गर्दै घटनाको कडा निन्दा गरेका छन्। संघका अध्यक्ष उपेन्द्र पासवानद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “कानुनी राज्यमा पत्रकारमाथि गालीगलौज र धम्की दिने कार्य संविधान र कानुनको ठाडो उल्लंघन हो।” प्रेस चौतारी नेपाल, पर्सा शाखाका सचिव कृष्णा कुशवाहाद्वारा जारी विज्ञप्तिमा भनेको छ, “सत्यको खोजी गर्ने पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो, जुन स्वीकार्य हुन सक्दैन।”

दुवै संस्थाले दोषीमाथि तत्काल कानुनी कारबाही गर्न र पत्रकार बैठाको सुरक्षाका लागि आवश्यक कदम चाल्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्। साथै, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न सबै सरोकारवालालाई संवेदनशील बन्न आग्रह गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *