रसीद आलम ,पर्सा, जेठ २७ ।
पर्सा जिल्लामा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्यालले आज बिहान १०:०० बजे जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका वडा प्रहरी कार्यालयहरूको निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
निरीक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी आर्यालले प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्न आउट, मेश, व्यारेक भवन, प्रहरी कन्ट्रोल रुम, हिरासत कक्ष तथा सम्पूर्ण शाखाहरूको अवलोकन गरी आवश्यक निर्देशनसमेत दिनुभएको छ। उहाँले प्रहरी कर्मचारीहरूको कार्यशैली, सेवा प्रवाह र जिम्मेवारीको समीक्षा गर्दै सुरक्षालाई अझ प्रभावकारी बनाउने विषयमा अमूल्य निर्देशन दिनुभएको छ।
सो अवसरमा पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे. क्वा. पर्साका एसपी राधेश्याम धिमाल तथा बिर्ता प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईं समेत निरीक्षणमा सहभागी हुनुहुन्थ्यो।
प्रमुख जिल्ला अधिकारी आर्यालले निरीक्षणको क्रममा प्रहरीले नागरिकहरूसँगको समन्वयलाई थप सशक्त पार्न, अनुशासन र पारदर्शितामा विशेष ध्यान दिन र जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले जिल्ला प्रहरी कार्यालयको सम्पूर्ण कर्मचारीहरूलाई नैतिकता, उत्तरदायित्व र सेवा भावका साथ कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभएको छ।
यस निरीक्षण तथा अनुगमनबाट पर्सा जिल्लाको सुरक्षा व्यवस्थामा थप सुदृढीकरण र प्रहरी सेवामा जनविश्वास अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
