पर्सा, जेष्ठ २७।
जेष्ठ २७ गते दिउँसो १:४५ बजे पर्सा जिल्लाको बिन्दाबासिनी गाउँपालिका–५ स्थित प्रसौनिभाटाबाट गर्दौल तर्फ अबैध रूपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको ठूलो मात्रामा किराना सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।
भारतबाट अबैध रूपमा नेपाल तर्फ ल्याइँदै गरेको उक्त किराना सामानको बजार मूल्य करिब दुई लाख तीन हजार रुपैयाँ बराबर रहेको बताइएको छ। सामानसँगै एक थान मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
उक्त सामानहरू सशस्त्र प्रहरी बल पर्सा गुल्म अलौको टोलीले डिएसपी कृष्ण सिंह पुजाराको कमाण्डमा निगरानीका क्रममा नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सामग्रीहरूलाई आवश्यक प्रक्रिया पुरा गरी सम्बन्धित भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरी बल पर्सा गुल्मले जानकारी दिएको छ। प्रहरीले अबैध रुपमा भारतबाट नेपाल भित्र्याउने हरूको गतिविधिलाई नियन्त्रण गर्न सीमा क्षेत्रमा नियमित रुपमा गस्ती र निगरानीलाई थप कडा बनाएको जनाएको छ।
यस प्रकारको अवैध कारोबारले मुलुकको आर्थिक क्षेत्रमा नकारात्मक असर पार्ने भएकाले यस्ता गतिविधिमा संलग्नहरूलाई कडा कारवाही गरिने सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।
सशस्त्र प्रहरी बल पर्सा अलौ गुल्मका डिएसपी कृष्ण सिंह पुजाराको नेतृत्वमा सुरक्षा टोलीले सीमावर्ती क्षेत्रको सुरक्षालाई थप कडा बनाउँदै दैनिक रुपमा निगरानीलाई तीव्रता दिएको समेत जानकारी दिइएको छ।
