रसीद आलम
पर्सा, २७ जेठ ।
जिल्ला विपद् व्यवस्थापन समिति, पर्साको आयोजनामा तथा पर्सा जिल्लास्थित सुरक्षा निकायहरू र विभिन्न सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा जलजन्य विपद् उद्धारसम्बन्धी संयुक्त अभ्यास प्रदर्शनी (अभ्यास मनसुन–५) भव्य रूपमा सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रम मिति २०८२।०२।२४ गतेदेखि २०८२।०२।२७ गतेसम्म चार दिनसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा जलजन्य विपद् उद्धारसम्बन्धी विविध सैद्धान्तिक र व्यवहारिक अभ्यासका साथै उद्धारका लागि आवश्यक पूर्वतयारी, उपकरण प्रयोग, उद्धारको समन्वयात्मक अभ्यास र सचेतनामूलक क्रियाकलापहरू समेत समेटिएका थिए।
कार्यक्रमको समापन समारोहका अवसरमा मिति २०८२।०२।२७ गते वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित घडिअर्वा पोखरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस, नेपाल स्काउट लगायतका सुरक्षा निकायहरू र सरोकारवाला निकायहरूको उपस्थितिमा जल उद्धारसम्बन्धी संयुक्त अभ्यास प्रदर्शनी गरिएको थियो।
उक्त प्रदर्शनीमा स्थानीय जनप्रतिनिधिहरू, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवी, सञ्चारकर्मी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, सर्वसाधारणलगायत करिब ६०० जनाको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पर्सा जिल्लामा बाढी तथा डुबान लगायतका जलजन्य विपद्का कारण हरेक वर्ष ठूलो मानवीय र भौतिक क्षति हुने गरेको स्मरण गराउँदै यस्ता अभ्यासले विपद् व्यवस्थापनमा सबै निकायबीचको समन्वय र तयारी सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायतका सुरक्षाकर्मीहरूले तालिमका क्रममा जल उद्धारका विभिन्न विधिहरू प्रदर्शन गर्दै उद्धारका क्रममा अपनाउनु पर्ने सावधानी र सुरक्षा उपायबारे समेत जानकारी गराएका थिए। कार्यक्रममा सहभागीहरूले विपद् व्यवस्थापनमा स्थानीय समुदायको भूमिका र सचेतनाको महत्त्वलाई समेत विशेष जोड दिएका थिए।
कार्यक्रमले जलजन्य विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै विपद्का बेला विभिन्न निकायहरूबीचको समन्वय र तालमेललाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
यस किसिमको अभ्यासले विपद् व्यवस्थापनलाई अझ प्रभावकारी र दक्ष बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिईएको छ।
