मकवानपुरमा ठूलो परिणाममा लागुऔषध र हातहतियार बरामद, एक जना पक्राउ

समाचार

मकवानपुर, असार २।मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–१ स्थित एक घरबाट ठूलो परिणाममा लागुऔषध र हातहतियार बरामद भएको छ। उक्त घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्राप्त विशेष सूचनाका आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले २०८२ साल जेठ ३१ गते साँझ ७ बजे राक्सिराङ–१ स्थित राजु स्याङतानको घरमा छापा मारेको थियो।

प्रहरीको खोजतलासका क्रममा राजु स्याङतानको सुत्ने कोठामा सिरानी मुनी कपडामा बेरी लुकाइ राखिएको अवस्थामा ७.६५एमएम युनिभर्सल मेड इन इटली लेखिएको म्यागजिनसहितको एक थान इटालियन पेस्तोल, थप एक थान खाली म्यागजिन र १३ राउण्ड गोली फेला परेको हो। साथै, गोठको दोस्रो तल्लामा मकैको खोस्टा र पत्करबीच लुकाइएको अवस्थामा एक थान कटुवा पेस्तोल, ८ एमएम लेखिएको १२ राउण्ड गोली, अफिम जस्तो देखिने १ किलो ३१० ग्राम गिलो पदार्थ र २२ किलो ८०० ग्राम गाँजा समेत फेला परेको प्रहरीले जनाएको छ।

यस अतिरिक्त, स्याङतानको घरबाट करिब ५०० मिटरको दूरीमा रहेको चन्द्रलाल मोक्तानको बारीमा, आँपको रुखको फेदमा प्लास्टिकमा बेरी लुकाइएको अवस्थामा घरेलु कटुवा पेस्तोल १ थान, ५ राउण्ड गोली र २ पोकामा गरी १ किलो ४८० ग्राम अफिमजस्तो देखिने पदार्थ समेत फेला परेको छ।

राजु स्याङतानलाई नियन्त्रणमा लिई लागूऔषध तथा हातहतियार सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *