(कोल्हबी क्षेत्रबाट सक्रिय अनुसन्धानपछि मोटरसाइकल चोर गिरोहको पर्दाफास)
रसीद आलम,बारा, असार १७ ।
जिल्ला प्रहरी कार्यालय, बाराको सक्रिय अनुसन्धान तथा कार्यवाहीमा मोटरसाइकल चोरीमा संलग्न ३ जना व्यक्तिहरू पक्राउ परेका छन् भने उनीहरूको साथबाट चोरी गरिएका ५ ओटा मोटरसाइकलहरू बरामद गरिएको छ। बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले उक्त सफलता हासिल गरेको हो।
विभिन्न मिति, समय र स्थानहरूबाट मोटरसाइकलहरू हराएको वा चोरी भएको सम्बन्धमा पीडितहरूले जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय कोल्हवीमा निवेदन तथा जाहेरी दिएका थिए। उक्त जाहेरीहरूका आधारमा प्रहरी निरीक्षक रंजन मिश्रको कमाण्डमा अनुसन्धान टोली खटिएको थियो। खोजतलासको क्रममा विभिन्न ठाउँमा लुकाइ राखिएका ५ ओटा मोटरसाइकलहरू फेला पार्दै, चोरीमा संलग्न रहेका ३ जना व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूको विवरण यसप्रकार छः
१. राहुल बिक, उमेर २१ वर्ष, कोल्हवी नगरपालिका वडा नं. १, बारा।
२. अर्जुन खवास, उमेर २३ वर्ष, हाल कोल्हवी निवासी।
३. मुस्कान चौधरी, उमेर २३ वर्ष, हाल कोल्हवी निवासी।
पक्राउ परेका उनीहरूलाई प्रारम्भिक अनुसन्धानपछि चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत बाराबाट म्याद थप लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी बिजयराज पण्डितले जानकारी दिनुभयो।
बरामद गरिएका मोटरसाइकलहरूको विवरण यसप्रकार छः
१. प्रदेश २–०३–००६ प ६५१५ नम्बरको १२५ सि.सि. क्षमताको Honda Shine।
२. ना. ४८ प. ६९७० नम्बरको कालो रङको TVS RTR 200।
३. बा. ९४ प. २१४६ नम्बरको २२० सि.सि. क्षमताको निलो रङको Bajaj Pulsar।
४. ना. ६५ प. ८८६० नम्बरको रातो-कालो रङको TVS Striker।
५. प्रदेश २–०३–००५ प ६२२६ नम्बरको निलो रङको TVS Striker।
प्रहरीका अनुसार उक्त मोटरसाइकलहरू विभिन्न स्थानहरूबाट चोरी गरी कोल्हवी क्षेत्र आसपास लुकाइएको अवस्थामा फेला पारिएको हो। यस घटनाले कोल्हवी क्षेत्रमा सक्रिय मोटरसाइकल चोरी गिरोहप्रति प्रहरी सतर्क रहेको संकेत दिएको छ।
बारा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यलाई पनि तीव्र बनाएको छ। यस किसिमको अनुसन्धानबाट चोरीका घटनाहरूमा कमी आउने र सर्वसाधारणमा सुरक्षाको अनुभूति हुने बिश्वास प्रहरीको छ।
