बेश्यावृत्तिमा जबरजस्ती संलग्न गराउने कलैयाका युवक पर्साबाट पक्राउ, दुई युवती सकुशल उद्धार

समाचार

पर्सा, असार १८।
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक युवकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारतबाट वीरगञ्ज ल्याइएका दुई युवतीलाई विभिन्न प्रलोभन देखाई जबरजस्ती बेश्यावृत्तिमा संलग्न गराउने कार्यमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्ति बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं. १२ निवासी २९ वर्षीय पवन कुमार साह रहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए।

पर्सा प्रहरीका एसपी गौतम मिश्रका अनुसार २०८२ साल असार १६ गते दिउँसो करिब १२:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१५ भिष्वास्थित क्षेत्रबाट प्रहरीले भारतको दुई जना युवतीलाई सकुशल उद्धार गरेको थियो। ती युवतीलाई ‘खाना खुवाउने’ तथा ‘पैसा दिने’ प्रलोभनमा पारेर वीरगञ्जका विभिन्न होटल र लजहरूमा जबरजस्ती बेश्यावृत्ति गराइन्थ्यो। प्राप्त रकम भने पक्राउ परेका साहले आफैं राख्ने गरेका थिए।

प्रहरीले पीडितहरूलाई सुरक्षित रूपमा उद्धार गरी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा साहलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रहरीले यस घटनालाई गम्भीरताका साथ अनुसन्धान गरिरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *