रसीद आलम
वीरगञ्ज, ८ भदौ ।
मधेस प्रदेशमा तस्करी नियन्त्रण अभियानलाई अझ तीव्रता दिँदै सशस्त्र प्रहरी बल पर्साले पछिल्ला दिनमा विभिन्न स्थानबाट बरामद गरिएको करिब रु. २९ लाख ८७ हजार ७६५ बराबरको अवैध सामान तथा सवारी साधन वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ।
सशस्त्र प्रहरी बल मधेस प्रदेश प्रमुख डिआईजी कृष्ण ढकालको निर्देशनमा सञ्चालन गरिएको अभियान अन्तर्गत पछिल्ला दुई दिनमा मात्र ठूलो मात्रामा अवैध सामान नियन्त्रणमा लिइएको हो।
चकलेटसहित टेम्पो र ई–लोडर बरामद
मिति २०८२ भदौ ७ गते सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–११ पावरहाउस चोक नजिकैबाट भारततर्फबाट भन्सार छली ल्याइँदै गरेको रु. ७ लाख ४४ हजार बराबरको चकलेट बरामद गरेको थियो।
सो क्रममा प्रयोगमा ल्याइएका टेम्पो र ई–लोडरको मुल्य रु. १३ लाख तोकिएको र बरामद सबै सामान आवश्यक कारबाहीका लागि सोही दिन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
किराना सामानसहित मोटरसाइकल नियन्त्रण
त्यसै दिन सोही गुल्मबाट खटिएको अर्को टोलीले रु. ३६ हजार ४४० बराबरको किराना सामानसहित प्रयोग गरिएको मोटरसाइकल (मुल्य रु. १ लाख) पनि नियन्त्रणमा लिई भन्सारमा बुझाएको छ।
कपडा, किराना तथा मोटरसाइकल बरामद
भदौ ८ गते सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनी चौकमा गरिएको चेकजाँचका क्रममा रु. ३ लाख ७४ हजार २०५ बराबरको कपडा तथा किराना सामानसहित मोटरसाइकल (मुल्य रु. १ लाख ५० हजार) बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो।
अन्य स्थानबाट समेत सामान बरामद
यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्सा मातहतका प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुर, भिखम्पुर, बीओपी अमरपट्टी र पीडारीगुठिबाट खटिएका टोलीहरूले विभिन्न पशुचौपाया तथा अन्य सामानहरु करिब रु. २ लाख ८३ हजार १२० बराबर भन्सारमा बुझाएको र केही सामान लिलामी प्रक्रियामा रहेको जानकारी दिइएको छ।
अभियान अझ कडाइका साथ अघि बढाइने
सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीका अनुसार डिआईजी ढकालको विशेष निर्देशनमा मधेस प्रदेशमा तस्करी नियन्त्रण अभियानलाई निरन्तरता दिइएको र आगामी दिनमा पनि अझ कडाइका साथ यस अभियानलाई अघि बढाइने भएको छ।
